Below Menu

सरकारको ऋण २४ खर्ब ३३ अर्ब पुग्यो, एक वर्षमा थपियो एक खर्ब ३४ अर्ब बढी 

सरकारको ऋण २४ खर्ब ३३ अर्ब पुग्यो, एक वर्षमा थपियो एक खर्ब ३४ अर्ब बढी 

काठमाडौं : गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको ऋण एक खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार अघिल्लो आवमा २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको यस्तो ऋण थपिएर २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको हो । 

Sponsored Advertisement

कार्यालयका अनुसार गत जेठ मसान्तको तुलनामा असारमा ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४२.६५ प्रतिशत हुन आएको छ ।

यस अवधिसम्म सरकारले तिर्न बाँकी ऋण २४ खर्ब ३४ अर्ब ३ करोड रुपैयाँ रहेको छ । जसमा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब ५३ अर्ब १३ करोड रुपैयाँ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

एक वर्षमा सरकारले लिएको कुल सार्वजनिक ऋण ३ खर्ब ५८ अर्ब २ करोड रूपैयाँ रहेको छ । जसमा आन्तरिक ऋण २ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ भने बाह्य ऋण एक खर्ब २३ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

सरकारले गत वर्ष सार्वजनिक ऋण भुक्तानी गर्न मात्रै ३ खर्ब ३० अर्ब रुपैयाँ बार्षिक वजेट विनियोजन गरेको थियो । यस अवधिमा सरकारले सावाँ र ब्याज वापतको तीन खर्ब ५ अर्ब ३७ करोड ७१ लाख रूपैयाँ भुक्तानी गरेको छ । कुल ग्राहस्थ उत्पादनका आधारमा कुल ऋण सेवा खर्च ५.३५ प्रतिशत हो । 

सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत २ खर्ब २३ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी गरेको छ । आन्तरिक तर्फको एक खर्ब ८२ अर्ब ६२ करोड र बाह्य तर्फको ४० अर्ब ७२ करोड रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको हो ।

कार्यालयका अनुसार यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको ब्याज वापत ८२ अर्ब ३ करोड रुपैयाँ भुक्तानी गरेको छ । जसमा आन्तरिक ऋणकोे ब्याज भुक्तानीमा ७२ अर्ब ७६ करोड रूपैयाँ खर्च भएको छ भने बाह्य ऋणको ब्याज भुक्तानी गर्न ९ अर्ब २६ करोड रूपैयाँ खर्च भएको छ ।
 

थप समाचार