Below Menu

एक महिनाभित्र भूमि आयोग गठन गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

एक महिनाभित्र भूमि आयोग गठन गर्ने  मन्त्री अधिकारीको प्रतिबद्धता

काठमाडौं  : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्न एक महिनाभित्र आयोग गठन गरिने प्रतिबद्धता जनाएका छन् । 

Sponsored Advertisement

आज एसियाली किसान सङ्घको ११औँ साधारणसभालाई सम्बोधन  गर्दै उनले आयोग गठनका लागि आवश्यक परे कानुन संशोधन गरेर एक महिनाभित्र आयोग गठनको काम गर्ने गरी मन्त्रालयले तयारी गरेको जानकारी दिए ।  

मन्त्री अधिकारीले किसानको उन्नति नभएसम्म देशको प्रगति नहुने भएकाले यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । “नीति राम्रो बनाएर व्यवहारमा लागू गराउन हामी लागिपरेका छौँ । कृषि क्षेत्रमा जलवायु परिवर्तनका असर धेरै परेकाले जलवायु उत्थानशीलता जोडेर काम गर्नुपर्ने अवस्था आएको छ”,उनले भने । जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावकै कारण खाद्य अधिकार चुनौती बन्दै गएको उल्लेख गर्दै मन्त्री अधिकारीले संविधानमै व्यवस्था भएको यो अधिकार कार्यान्वयनका लागि काम भइरहेको सुनाए । 

एसियाका धेरै देश कृषिमै आबद्ध भएकाले सबै देशका किसान सङ्गठित भएर यस क्षेत्रको दिगो विकासका लागि आवाज उठाउनुपर्नेमा उनले जोड दिए । दुई दिनसम्म चल्ने साधारणसभामा १९ देशका २२ वटा किसानसँग सम्बन्धित संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । 

साधारणसभाले सङ्घको नयाँ नेतृत्व चयन गर्ने र साधारणसभापछि नगरकोटमा पाँच दिने तालिम पनि आयोजना गरिने त्यस अवसरमा जानकारी दिए । 

थप समाचार