Below Menu
Below Menu

परराष्ट्रमन्त्री शिशिर खनाल १४ जुनदेखि चीन भ्रमणमा, द्विपक्षीय सम्बन्ध र लगानी प्रवर्द्धन मुख्य एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनाल १४ जुनदेखि चीन भ्रमणमा, द्विपक्षीय सम्बन्ध र लगानी प्रवर्द्धन मुख्य एजेन्डा

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल यही जुन १४ देखि १७ तारिखसम्म चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका परराष्ट्रमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल चीन भ्रमणमा जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणमा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने, आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने तथा आर्थिक, व्यापारिक, पूर्वाधार, ऊर्जा, पर्यटन र विकास साझेदारीका विविध आयाममा छलफल हुने मन्त्रालयले जनाएको छ ।

भ्रमणमा मन्त्री खनालले चीन सरकारका उच्चस्तरीय पदाधिकारी तथा विशिष्ट व्यक्तित्वहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।  

यसैगरी भ्रमण नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको लगानी सम्मेलन रहनेछ। बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने उक्त सम्मेलनमा मन्त्री खनालले प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै नेपालमा लगानीका सम्भावना, सरकारले अवलम्बन गरेका सुधारका कार्यक्रम तथा लगानीमैत्री वातावरणबारे चिनियाँ व्यवसायी समुदायलाई जानकारी गराउनेछन्। 

साथै, उनले चिनियाँ उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरी नेपालमा लगानी विस्तारका अवसरबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले मन्त्री खनालको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि उनी सहभागी हुनेछन्। उक्त अवसरमा उनले चीनमा बसोबास गरिरहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्। कार्यक्रममा नेपाल–चीन जनस्तरीय सम्बन्ध, प्रवासी नेपालीहरूको भूमिका तथा मातृभूमिको विकासमा उनीहरूको योगदानबारे समेत छलफल हुने जनाइएको छ।

परराष्ट्रमन्त्री खनाल जुन १७ तारिखमा भ्रमण सम्पन्न गरी काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

Advertisment

थप समाचार