Below Menu
Below Menu

शेखर गोल्छाको हुलास अटो क्राफ्टको व्यापार ४७ प्रतिशतले बढ्यो, नौ महिनामै साढे ९ अर्बको कारोबार

शेखर गोल्छाको हुलास अटो क्राफ्टको व्यापार ४७ प्रतिशतले बढ्यो, नौ महिनामै साढे ९ अर्बको कारोबार

काठमाडौं : नेपालमा बजाज ब्रान्डका मोटरसाइकल तथा तीनपांग्रे सवारीसाधन एसेम्बल गर्दै आएको हुलास अटो क्राफ्ट प्रालिले चालु आर्थिक वर्षको नौ महिनामै  ९ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

उक्त रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७.४० प्रतिशतले बढी हो । सन् २०२५ को सोही अवधिमा ६ अर्ब ४६ करोड ६१ लाख रुपैयाँको व्यापार गरेको थियो । 

हुलास अटो क्राफ्टको व्यापार पछिल्ला केही वर्षदेखि निरन्तर उकालो लागिरहेको छ । सन् २०२३ मा कम्पनीले ५ अर्ब ६१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०२४ मा कम्पनीले ५ अर्ब १३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । 

त्यसपछि सन् २०२५ मा कम्पनीको व्यापार झण्डै ७८ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुगेको थियो ।  चालु आवको  नौ महिनामै कम्पनीको व्यापार वार्षिक आधारमा करिब ३९ प्रतिशतले बढेको हो । 

व्यापार विस्तारसँगै सञ्चालन नाफाको मार्जिन पनि बढेको छ । सन् २०२४ मा ५.९ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा ६.८ प्रतिशत पुगेको थियो । चालु आवको छ महिनामा कम्पनीको सञ्चालन नाफा मार्जिन ६.९ प्रतिशत कायम भएको छ ।

कम्पनीको वित्तीय अवस्था बलियो बन्दै गएको छ । कम्पनीको ऋण सेवा क्षमता सूचक (डीएससीआर) आर्थिक वर्ष २०२४ को २.४ गुणाबाट बढेर चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३.३ गुणासम्म पुगेको छ । 

त्यसैगरी ब्याज तिर्ने क्षमता पनि उल्लेख्य रूपमा सुधारिएको छ । आर्थिक वर्ष २०२३ मा १.३ गुणा रहेको ब्याज कभरेज अनुपात आर्थिक वर्ष २०२५ मा ६.९ गुणासम्म पुगेको थियो । चालु आवको यस अवधिमा ६.७ गुणामा कायम छ । 

आर्थिक वर्ष २०२४ मा कम्पनीले खुद नाफाको करिब ७५ प्रतिशत अन्तरिम लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष २०२५ मा करिब ४७ प्रतिशत बराबरको लाभांश वितरण गरेको थियो । 

हुलास क्राफ्टको आम्दानीमा बजाजको लोकप्रिय ‘पल्सर’ मोटरसाइकल सिरिजको मुख्य योगदान रहेको छ । चालु आवको नौ महिनामा मात्रै कम्पनीको कुल आम्दानीको करिब ७२ प्रतिशत हिस्सा पल्सर सिरिजका मोटरसाइकलबाट आएको छ । 

हाल कम्पनीले नवलपरासीको रामग्रामस्थित एसेम्बली प्लान्टमार्फत नेपालमा बजाज ब्रान्डका दुईपांग्रे र तीनपांग्रे सवारीसाधन एसेम्बल गर्दै आएको छ ।

कम्पनीले एसेम्बल गरिएका सम्पूर्ण सवारीसाधन कम्पनीको भगिनी संस्था हंसराज हुलासचन्द एण्ड कम्पनी (एचएचसी) मार्फत बिक्री वितरण गर्दै आएको छ । एचएचसी नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हो । 

गोल्छा समूह अन्तर्गतको सञ्चालित हुलास अटो क्राफ्टमा व्यवसायी शेखर गोल्छाको ८० प्रतिशत तथा आकाश गोल्छाको २० प्रतिशत शेयर स्वामित्व रहेको छ । शेखर गोल्छा कम्पनीका अध्यक्षसमेत हुन् ।

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि ३ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ७६ करोड ६२ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि ३ अर्ब १७ करोड २१ लाख रुपैयाँ बराबरको रेटिङ गराएको हो । 

Advertisment

थप समाचार