काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा नेपालले पाँच खर्ब बढीको व्यापार घाटा व्यहोरेको छ । असोज मसान्तसम्म नेपालले साढे सात खर्ब रुपैयाँको वैदेशिक व्यापारमा ५ खर्ब ३२ अर्ब ४९ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
गत वर्षको तुलनामा व्यापार घाटा ३४.७१ प्रतिशतले बढेको छ । गत वर्ष नेपालले तीन खर्ब ९५ अर्ब ३० करोड ५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
यस अवधिमा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेको छ । असोज मसातसम्म नेपालले सात खर्ब ६१ अर्ब सात करोड नौ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत वर्ष मुलुकले ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले साढे छ खर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । असोजसम्म मुलुकले छ खर्ब ४६ अर्ब ७८ करोड २५ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको हो ।
गत वर्षको तुलनामा आयात ३८.१८ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।
यस अवधिमा नेपालले एक खर्ब १४ अर्ब २८ करोड ८४ लाख ४४ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको निर्यात व्यापार ५७.०३ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा नेपालले ७२ अर्ब ७८ करोड २८ लाख ५ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।