Below Menu

एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

काठमाडौं : नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा सङ्‌कटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ । ‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानअन्तर्गत इसेवाले एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत रु. २,००० र प्रत्येक चौकाबापत रु. १,००० रकम (करसहित अधिकतम सीमा रु. १० लाखसम्म) योगदान गर्नेछ ।  

Sponsored Advertisement

एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको इसेवाले रेड पान्डा नेटवर्क तथा रेड पान्डा नेटवर्क नेपालसँगको सहकार्यमा प्रतियोगितामा प्रहार हुने प्रत्येक चौका र छक्काबापत रेड पान्डाको बासस्थान संरक्षण कार्यका लागि उक्त रकम योगदान गर्ने भएको हो । यस सम्बन्धमा इसेवा, रेड पान्डा नेटवर्क तथा रेड पान्डा नेटवर्क नेपालबीच त्रिपक्षीय साझेदारी भएको हो ।  

एनपीएलमा प्रहार हुने बाउन्ड्रीबापत इसेवाले योगदान दिने रकम रेड पान्डाको प्राकृतिक बासस्थान पुनर्स्थापना तथा स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्न उपयोग गरिनेछ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्‌घ (आइयूसीएन) को रातो सूचीमा सङ्‌कटापन्न प्रजातिका रूपमा सूचीकृत रेड पान्डाको संरक्षणका लागि बासस्थानको सुरक्षा र पुनर्स्थापना महत्त्वपूर्ण मानिन्छ । यस अभियानअन्तर्गत रेड पान्डाको बासस्थान रहेको इलाम तथा पाँचथरका सामुदायिक वन क्षेत्रमा सन् २०२७ को जुन-जुलाईमा संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।  

यसअन्तर्गत स्थानीय प्रजातिका बिरुवा रोप्ने, रोपिएका बिरुवाको संरक्षण तथा हेरचाह गर्ने र वन्यजन्तुमैत्री वातावरण पुनर्स्थापना गर्ने कार्यहरू समावेश हुनेछन् । यस अभियानअन्तर्गत करिब १० हेक्टर क्षतिग्रस्त बासस्थान पुनर्स्थापना गर्ने, १० हजार स्थानीय प्रजातिका बिरुवा रोप्ने र स्थानीय समुदायका लागि करिब ६०० श्रमदिन बराबरको पारिश्रमिकसहितको रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिइनेछ ।  

अभियानबारे जानकारी दिँदै इसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले नेपाल प्रिमियर लिग सम्पूर्ण क्रिकेटप्रेमीका लागि ठुलो उत्सव भएको बताउँदै खेलको यही उत्साहलाई प्रकृति संरक्षणमा रूपान्तरण गर्ने प्रयास गरिएको बताउनुभयो । 

“नेपाल प्रिमियर लिग देशभरका क्रिकेटप्रेमीका लागि एउटा ठुलो उत्सव हो । एनपीएलमा प्रहार हुने हरेक चौका र छक्काबापत रेड पान्डाको बासस्थान संरक्षणमा सघाउँदै खेलको उत्साहलाई प्रकृति संरक्षणमा रूपान्तरण गर्ने प्रयास गरेका छौँ,” शाक्यले भन्नुभयो, “यस अभियानमार्फत खेलकुदको सकारात्मक प्रभावद्वारा जैविक विविधताको संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने हाम्रो लक्ष्य छ । क्रिकेटप्रेमीको यो साझा उत्सवले संरक्षणको क्षेत्रमा पनि अर्थपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ ।” 

यसै गरी, रेड पान्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पाले क्रिकेटको लोकप्रियतालाई रेड पान्डा संरक्षणसँग जोड्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले संरक्षण र समुदायको हितमा काम गर्न थप प्रोत्साहन मिलेको बताउनुभयो । 

त्यस्तै, रेड पान्डा नेटवर्क नेपालका अध्यक्ष डा. शैलेन्द्रबहादुर थकालीले क्रिकेटको ऊर्जालाई रेड पान्डाको भविष्यसँग जोडेकोमा इसेवाप्रति आभार व्यक्त गर्दै यस सहकार्यले रेड पान्डाको  बासस्थान संरक्षण र हरित रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

यस अभियानले खेलकुदमार्फत जैविक विविधताको संरक्षणमा योगदान पुर्‍याउनुका साथै संरक्षण क्षेत्रमा स्थानीय समुदायको सहभागिता र जीविकोपार्जनका अवसर सिर्जनामा समेत टेवा पुग्ने इसेवाको विश्वास रहेको छ । 

एनपीएल अवधिभर प्रत्येक चौका र छक्काबाट जम्मा भएको योगदानको विवरण इसेवाको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ। यस अभियानमार्फत इसेवाले डिजिटल भुक्तानीको दायरालाई वातावरण संरक्षण र समुदायको हितसँग जोड्दै जिम्मेवार व्यावसायिक अभ्यासलाई निरन्तरता दिने जनाएको छ । 

 

थप समाचार