काठमाडौं : विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी बाइनान्सले साइबर आक्रमण (ह्याक) मार्फत चोरी भएको ६.३ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिमध्ये ९० प्रतिशत रकम पूर्ति गरेको जनाएको छ। कम्पनीले बाँकी १० प्रतिशत रकम पनि जुटाउने प्रयास भइरहेको बताएको छ।
गत बिहीबार भएको उक्त साइबर आक्रमणलाई क्रिप्टोकरेन्सी क्षेत्रकै इतिहासमा अहिलेसम्मकै ठूलो ह्याकिङ घटनाका रूपमा हेरिएको छ। चोरी भएको सम्पूर्ण रकमको आर्थिक भार प्रयोगकर्ताले नभई कम्पनी स्वयंले व्यहोर्ने बाइनान्सले स्पष्ट पारेको छ।
शनिबार जारी गरेको विज्ञप्तिमा बाइनान्सले चोरी भएको सम्पत्तिको क्षतिपूर्ति दिन कम्पनीको आफ्नै कोषबाट ६ अर्ब ३४ करोड अमेरिकी डलरभन्दा बढी रकम छुट्याइएको जनाएको थियो। कम्पनीका अनुसार विभिन्न स्रोत तथा आफ्नै कर्पोरेट कोष प्रयोग गरी चोरी भएको डिजिटल सम्पत्ति पुनः जुटाइएको हो।
बाइनान्सले आइतबार दिएको पछिल्लो जानकारीअनुसार ह्याकिङपछि रोकिएका केही नेटवर्कका निकासी सेवा (विथड्रअल) पुनः सञ्चालनमा ल्याइएको छ। यसअघि कम्पनीले सुरक्षा कारण देखाउँदै निकासी सेवा चरणबद्ध रूपमा सुरु गर्ने जनाएको थियो।
यसैबीच, अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले शनिबार उक्त साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता रहेको निष्कर्ष सार्वजनिक गरेको छ। एफबीआईका अनुसार ह्याकरहरूले चोरी भएका डिजिटल सम्पत्तिलाई इथेरियम नामक क्रिप्टोकरेन्सीमा रूपान्तरण गरिरहेका छन्।
त्यसपछि विकेन्द्रीकृत वित्तीय प्रणाली (डिसेन्ट्रलाइज्ड फाइनान्स) तथा तत्काल डिजिटल सम्पत्ति साट्ने सेवामार्फत पुनः रूपान्तरण गरी रकमको स्रोत लुकाउने प्रयास हुन सक्ने अनुमान गरिएको छ।
यसअघि दुईवटा ब्लकचेन विश्लेषण कम्पनीले बीबीसीलाई दिएको जानकारीमा उत्तर कोरियासँग सम्बन्धित ह्याकिङ समूह ‘लाजरस ग्रुप’ यस घटनामा संलग्न रहेको बलियो संकेत प्राप्त भएको बताएका थिए। उक्त समूहलाई ‘ट्रेडरट्रेटर’ नामले पनि चिनिन्छ। एफबीआईले पनि आफ्नो अनुसन्धानमा सोही समूहको नाम उल्लेख गरेको छ।
बाइनान्सले शुक्रबारसम्म कानुन कार्यान्वयन गर्ने निकाय, साइबर सुरक्षा अनुसन्धानकर्ता तथा अन्य साझेदार संस्थासँगको सहकार्यमा चोरी भएको करिब ३ अर्ब अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति रोक्का गरेको जनाएको थियो। अमेरिकी सेक्रेट सर्भिसले पनि चोरी भएको रकम पहिचान, ट्र्याक, रोक्का तथा फिर्ता ल्याउन निजी क्षेत्रका साझेदारसँग निरन्तर काम भइरहेको जनाएको छ।
बाइनान्सका सहप्रमुख कार्यकारी अधिकृत रिचर्ड टेङका अनुसार उक्त आक्रमणमा एकभन्दा बढी व्यक्ति संलग्न थिए। ह्याकरहरूले आफ्नो गतिविधिको डिजिटल प्रमाण लुकाउन ‘सेल्फ(डिस्ट्रक्ट मेकानिजम’ लगायतका जटिल प्रविधि प्रयोग गरेका थिए।
कम्पनीको प्रारम्भिक अनुसन्धानमा एक इन्जिनियरको ल्यापटपमा अनधिकृत पहुँच स्थापित भएपछि त्यसको माध्यमबाट अवैध रूपमा डिजिटल सम्पत्ति निकालिएको हुन सक्ने देखिएको थियो। तर, पछिल्लो अनुसन्धानमा सुरक्षामा कमजोरी देखिएका थप स्थानहरू पनि फेला परेको बाइनान्सले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
यस ह्याकिङ घटनाले सन् २०२५ मा बाइबिट क्रिप्टोकरेन्सी एक्सचेन्जमा भएको एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको चोरीको रेकर्डसमेत उछिनेको छ। उक्त घटनामा पनि एफबीआईले उत्तर कोरियालाई जिम्मेवार ठहर गरेको थियो। यद्यपि उत्तर कोरियाले यस्ता साइबर आक्रमणमा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गर्दै आएको छ।
सन् २०१७ मा चीनमा स्थापना भएको बाइनान्सले प्रयोगकर्तालाई विभिन्न डिजिटल सम्पत्ति खरिद, बिक्री तथा कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको छ। कम्पनीका विश्वभर करोडौँ प्रयोगकर्ता रहेको अनुमान छ।
बिटक्वाइन, इथेरियम र टेथरसहित कारोबारमा व्यापक प्रयोग हुने अन्य सातवटा क्रिप्टोकरेन्सी पनि क्षतिपूर्ति व्यवस्थाअन्तर्गत समेटिएको कम्पनीले जनाएको छ।