Below Menu

एडीबीबाट २८५ मिलियन डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अनुदान लिने सरकारको निर्णय

एडीबीबाट २८५ मिलियन डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अनुदान लिने सरकारको निर्णय

काठमाडौं : सरकारले एसियाली विकास बैंक (एडीबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

Sponsored Advertisement

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारका तर्फबाट थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै, न्यानो फर्टिलाइजर, बायो–स्टिमुल्यान्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश स्वीकृत गर्ने निर्णय गरेको छ।

यसैगरी, टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन ९कोप० मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ।

मन्त्रिपरिषद्ले मोही लागेको जग्गाको जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँट गरी लिन निवेदन दिने तथा त्यसलाई टुंगो लगाउने समयसीमा पनि थप गर्ने निर्णय गरेको छ। निर्णयअनुसार निवेदन दिने म्याद २०८५ कात्तिकसम्म र बाँडफाँटको प्रक्रिया टुंग्याउने म्याद २०८६ असारसम्म थप गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिइएको छ।

त्यस्तै, बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४७ संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

थप समाचार