काठमाडौं : स्नो रिभर्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ५ करोड २५ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ९६.८६ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले दुई करोड ६८ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीसँगै खुद सञ्चालन नाफा बढेका कारण नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।
गत वर्ष विद्युत बिक्रीमार्फत ९ करोड ६९ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा १२ करोड ५६ लाख ६७ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २९.६१ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको खुद सञ्चालन मुनाफा ३७.६४ प्रतिशतले बढेर आठ करोड ८६ लाख १९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो मुनाफा छ करोड ४३ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी कम्पनीको कुल नाफा आठ करोड ७५ लाख १३ हजार रुपैयाँबाट बढेर ११ करोड ५१ लाख ५० हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा ३१.५८ प्रतिशतले बढी हो ।
त्यस्तै, गत वर्षको असोजसम्ममा तीन करोड ६४ लाख ३७ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा घटेर तीन करोड ३९ लाख १४ हजार ऋणात्मक कायम रहेको छ ।
असोजसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १३.०१ रुपैयाँबाट बढेर २०.३८ रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४०.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०५.८३ रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म एक अर्ब तीन करोड १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा छ करोड एक लाख पाँच हजार रुपैयाँ सञ्चित छ ।