काठमाडौं : सानिमा मिडिल तमोर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ४२ करोड ९६ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १०४.५८ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले २१ करोड १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीसँगै खुद सञ्चालन नाफा बढेका कारण नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।
गत वर्ष विद्युत बिक्रीमार्फत ५७ करोड ४६ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा ७४ करोड ३२ लाख ७६ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २९.३४ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको खुद सञ्चालन मुनाफा ४३.६० प्रतिशतले बढेर ५५ करोड चार लाख ६६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो मुनाफा ३८ करोड ३३ लाख आठ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी कम्पनीको कुल नाफा ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँबाट बढेर ६८ करोड ५० लाख ३८ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा ३२.१४ प्रतिशतले बढी हो ।
त्यस्तै, गत वर्षको असोजसम्ममा १६ करोड ६६ लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा घटेर १२ करोड ६६ लाख ७९ हजार ऋणात्मक कायम रहेको छ । तथापी गत वर्ष १३ लाख १५ हजार रुपैयाँ रहेको कम्पनीको वित्तीय आम्दानी घटेर १२ लाख ५२ हजार रुपैयाँमा सिमित भएको छ ।
असोजसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ६.३० रुपैयाँबाट बढेर १२.८९ रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४४.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६.०१ रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म तीन अर्ब ३३ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ एक अर्ब २० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८६ लाख ६६ हजार रुपैयाँ सञ्चित रहेको छ ।