Below Menu

अर्जुनधारा धामको वार्षिक अनुष्ठानमा मिनी म्याराथन, ३९ लाख खर्च अनुमान

अर्जुनधारा धामको वार्षिक अनुष्ठानमा मिनी म्याराथन, ३९ लाख खर्च अनुमान

झापा : झापाको अर्जुनधारा जलेश्वरधाममा आयोजना हुने ४४औँ वार्षिक अनुष्ठानका अवसरमा धार्मिक गतिविधिसँगै युवालाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले मङ्सिर ९ गते मिनी म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ।

Sponsored Advertisement

आगामी मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानको अवसरमा आयोजना गरिने मिनी म्याराथनको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।

मिनी म्याराथन आयोजक समितिका संयोजक मिलन बस्नेतका अनुसार प्रतियोगिता अर्जुनधारा जलेश्वरधामबाट सुरु भई शनिश्चरे खानेपानी, सालबारी झिल र अर्जुनधाराका विभिन्न शाखा सडक हुँदै पुनः पिपलचोकमा पुगेर समापन गर्ने तयारी गरिएको छ। प्रतियोगिताको रुट, प्राविधिक पक्ष तथा व्यवस्थापकीय तयारी अघि बढाइएको उनले जानकारी दिए । 

धामका पीठाधीश पं. अग्निप्रसाद सिग्देलले अर्जुनधारा जलेश्वरधामको धार्मिक तथा पर्यटकीय महत्त्वको प्रचारप्रसार गर्नुका साथै स्थानीय युवालाई खेलकुद गतिविधिमा जोड्ने उद्देश्यले मिनी म्याराथन आयोजना गर्न लागिएको बताए । 

उनका अनुसार धार्मिक अनुष्ठानलाई पूजा, पाठ र प्रवचनमा मात्र सीमित नराखी सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिसँग जोडेर समुदायको सहभागिता बढाउने योजना बनाइएको छ।

‘पूर्वको पशुपतिनाथ’का रूपमा परिचित अर्जुनधारा जलेश्वरधाममा मंसिर १४ गते बिहान ११ बजे कलश यात्रासहित नगर परिक्रमा गरेर वार्षिक अनुष्ठान सुरु हुनेछ। बाला चतुर्दशीका दिन सतबिज रोपण तथा पूर्णाहुतिसहित अनुष्ठान समापन गरिने धाम समितिले जनाएको छ।

अनुष्ठान अवधिभर दैनिक मण्डप पूजा, श्रीमद्भागवत कथा प्रवचन, महाआरती, भजनकीर्तन तथा लाखबत्ती प्रज्वलनलगायत धार्मिक कार्यक्रम सञ्चालन हुनेछन्। सिक्किमको मङ्गलधामका भागवत भास्कर गुरुजी १००८ प्रमोद सुधाकर महाराजजीले कथा वाचन गर्नुहुने कार्यक्रम रहेको छ।

धाम समितिका अध्यक्ष नवीन गट्टानीले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको धामको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले अनुष्ठानलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको बताए । 

आठ दिनसम्म सञ्चालन हुने अनुष्ठानका लागि ५५ लाख २० हजार रुपैयाँ आम्दानी र ३९ लाख ३५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रमबाट १५ लाख ८५ हजार रुपैयाँ बचत हुने अनुमान समितिले गरेको छ।

अनुष्ठान व्यवस्थापनका लागि कार्यालय सञ्चालन, पण्डाल, विद्युत्, आवास, प्राथमिक स्वास्थ्य उपचार, सुरक्षा तथा ट्राफिक व्यवस्थापनलगायतका २४ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको प्रचार विभाग प्रमुख एवं अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश राईले बताए ।

थप समाचार