Below Menu

सीप मेलापछि महानगरले सुरु गर्‍यो लोकसेवा कक्षा, १७७ जनाले पढ्न थाले

सीप मेलापछि महानगरले सुरु गर्‍यो लोकसेवा कक्षा, १७७ जनाले पढ्न थाले

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो ।

Sponsored Advertisement

यस सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको हो ।

यसरी कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार पदका लागि छन् । यस्तै १०५ जना शाखा अधिकृत पदका लागि छन् ।

आज कार्यक्रम थालनी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै बौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताए । ‘युवाहरुको वौद्धिक क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने नेतृत्वको नीति कार्यान्वयन तहमा आएको छ,’ उनले भने, ‘महानगरबासीहरुमा राष्ट्रसेवक कर्मचारी बन्ने अभिलाषा वृद्धि गराउन, लोक सेवाबाट लिइने परीक्षामा सफल हुने वातावरण बनाउन लोक सेवा तयारीको कक्षा गरिएको हो ।’

नेपाल सरकारका पूर्व सचिव एवम कक्षाका स्रोत व्यक्ति गोपिनाथ मैनालीले, वौद्धिक क्षमता र  सिर्जनात्मक लेखन सिप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने धारणा राखे । ‘यसमा व्यक्तिको होइन, क्षमताको मूल्याङ्कन गरिन्छ । यसकारण सबैका लागि समान अवसर छ,’ मैनालीको भनाइ थियो ।   

‘तालिम लिने व्यक्तिले भौतिक रुपमा कक्षामा उपस्थित हुनै पर्छ । यसमा अनलाइन कक्षा लिने सुविधा छैन,’ सामाजिक विकास विभागका प्रमुख विमला कोइरालाले भने, ‘कक्षाबिचमा छोड्ने छुट कसैलाई पनि छैन । यदि कसैले कक्षा छोड्यो भने त्यसवापतको शुल्क भुक्तानी गर्नुपर्नेछ ।’

कक्षा संयोजक रितु कर्णकाअनुसार कक्षा आउँदो भाद्र महिनासम्म चल्नेछ । लोकसेवा कक्षामा महानगरपालिकाको स्थायी बासिन्दा, महिलाको हकमा ४० वर्ष र पुरुषका हकमा ३५ वर्ष उमेर पूरा नभएकालाई सहभागी गराइएको छ । 

थप समाचार