काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा सार्वजनिक ऋणको आकार पौने दुई खर्ब रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार माघ मसान्तसम्ममा सार्वजनिक ऋण २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा एक खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ थपिएको हो । हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४६ दशमलव ८१ प्रतिशत बराबर हो ।
कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.८१ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.१९ प्रतिशत रहेको छ ।
माघ मसान्तसम्म सरकारले दुई खर्ब तीन अर्ब ६५ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋणको साँवा–ब्याजको भुक्तानी गरेको छ । जसमा साँवा वापत एक खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ र ब्याज वापत ४० अर्ब १३ करोड ५२ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।
आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड बराबर रहेकामा माघ मसान्तसम्ममा बढेर १३ खर्ब ४९ अर्ब १३ करोड पुगेको छ ।
जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २२ दशमलव ०९ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले दुई खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदा एक खर्ब ३६ अर्ब ७६ करोड बराबर ऋण तिरेको छ ।
सरकारले विकास निर्माण र चालु खर्च धान्नका लागि आन्तरिक ऋणमा भर परेको कार्यालयको तथ्यांकले देखाएको छ । ऋणको आकार जीडीपीको साढे ४६ प्रतिशत पुग्नुले आगामी दिनमा साँवा–ब्याजको भुक्तानीको चाप सरकारी ढुकुटीमा अझै बढ्ने देखिएको छ ।
त्यस्तै, माघ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १५ खर्ब ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ छ । गत असार मसान्तसम्म बाह्य ऋण १४ खर्ब पाँच अर्ब ८२ करोड बराबर थियो ।
यस अवधिमा सरकारले बाह्य ऋणको भुक्तानीमा २६ अर्ब ७६ करोड ९ लाख रुपैयाँ खर्च गरेको छ भने यहि अवधिमा ३७ अर्ब ८१ करोड ६४ लाख रुपैयाँ बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २४ दशमलव ७२ प्रतिशत बराबर हो ।
चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा दुई खर्ब ५५ अर्ब ४८ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति ४२.८९ प्रतिशत हो ।
जसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ६०.१३ र १६.१८ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८५.२० र १४.८० प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ बजेट छुट्याएको थियो । माघ मसान्तसम्ममा दुई खर्ब तीन अर्ब ६५ करोड बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ ।
यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ४९.५५ प्रतिशत बराबर हो । जिडिपीको आधारमा माघ मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ३३ प्रतिशत बराबर हो ।
Advertisment