काठमाडौं : नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासनको पाइपलाइनमा दुई हाइड्रोपावरसहित छ कम्पनी थपिएका छन् । कम्पनीहरुले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।
सर्वसाधारणमा प्राथमिक शेयर निष्कासनका लागि सुपरहेवा पावर कम्पनी, रघुगंगा हाइड्रोपावर, राजेश मेटल क्राफ्ट्स, अन्नपूर्ण माछा दाना उद्योग, युवरानी एग्रो इन्डस्ट्रिज र प्रिमियर डिस्टिलरी लिमिटेडले निवेदन दिएका हुन्।
सेबोनका अनुसार उक्त कम्पनीहरु दुई अर्ब ७८ करोड ३४ लाख ५३ हजार १०० रुपैयाँ बराबरको दुई करोड ७८ लाख ३४ हजार ५३१ कित्ता शेयर निष्कासनका अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।
सुपरहेवा पावर कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशनका लागि जेठ ७ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरिएको छ।
यसैगरी, रघुगंगा हाइड्रोपावर लिमिटेडले पनि आईपीओ निष्काशन अनुमति माग्दै जेठ ८ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ५० करोड रुपैयाँ बराबरको एक करोड ५० लाख कित्ता शेयर निष्कासनको अनुमति माग गरेको हो।
उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ।
सेबोनका अनुसार राजेश मेटल क्राफ्ट्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै जेठ ७ गते बोर्डमा आवेदन दर्ता गरेको छ । कम्पनीले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी गर्न अनुमति माग गरेको छ।
कम्पनीको आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट लिमिटेड बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको १० लाख ९ हजार ५३१ कित्ता साधारण शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरिएको छ।
यसैगरी, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले पनि आईपीओ निष्काशन अनुमति माग्दै जेठ ७ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १६ करोड ५० लाख रुपैयाँ बराबरको १६ लाख ५० हजार कित्ता शेयर निष्कासनको अनुमति माग गरेको हो।
उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि प्रभु क्यापिटल नियुक्त भएको छ।
सेबोनका अनुसार प्रिमियर डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै जेठ ८ गते बोर्डमा आवेदन दर्ता गरेको छ । कम्पनीले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर जारी गर्न अनुमति माग गरेको छ।
कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त गरिएको छ। बोर्डबाट अन्तिम स्वीकृति पाएसँगै यी कम्पनीहरूले सर्वसाधारणका लागि शेयर निष्कासन तथा बिक्री खुला गर्नेछन्।
Advertisment