एजेन्सी : करिब तीन महिनादेखि जारी अमेरिका–इरान युद्ध अन्त्य गर्न शान्ति सम्झौतामा सहमत भएका छन् । आइतबार दुवै देशले शान्ति सम्झौताका आधारभूत विषयहरूमा सहमति भएको घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँगको सम्झौता सफलतापूर्वक सम्पन्न भएको दाबी गर्दै विश्वव्यापी तेल आपूर्ति पुनः सामान्य अवस्थामा फर्किने बताएका छन्। यता, इरानले पनि लामो समयदेखि जारी कठिन वार्ताले सकारात्मक निष्कर्ष प्राप्त गरेको जनाएको छ।
युद्ध अन्त्यको घोषणा सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तत्काल प्रभाव देखिएको छ। विश्वव्यापी तेल आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने अपेक्षाले कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। युद्धका कारण विश्व अर्थतन्त्रमा परेको दबाब कम हुने संकेत देखिएपछि लगानीकर्ता र ऊर्जा बजार उत्साहित बनेका छन्।
युद्धविराम र शान्ति प्रक्रियामा सुरुदेखि नै मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफका अनुसार अमेरिका र इरानबीच लेबननसहित क्षेत्रका विभिन्न मोर्चाहरूमा जारी सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको छ। उनका अनुसार आगामी जुन १९ मा स्विट्जरल्यान्डमा हुने विशेष समारोहमा सम्झौतामा औपचारिक हस्ताक्षर गरिने तयारी भइरहेको छ।
यद्यपि दुवै देशले सम्झौताको पुष्टि गरे पनि त्यसका सम्पूर्ण प्रावधानहरू सार्वजनिक गरिएका छैनन्। राष्ट्रपति ट्रम्पले सम्झौतापछि तेलको अन्तर्राष्ट्रिय आपूर्ति पूर्ण रूपमा पुनः सुरु हुने विश्वास व्यक्त गर्दै विश्वका जहाजहरूलाई पुनः नियमित सञ्चालनमा फर्किन आग्रह गरेका छन्। उनले होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय व्यापारका लागि खुला रहने र समुद्री यातायातमा कुनै अवरोध नहुने दाबी समेत गरेका छन्।
इरानी सञ्चारमाध्यमहरूले अमेरिकाले इरानमाथि लगाएको सामुद्रिक नाकाबन्दी ३० दिनभित्र हटाउने विषयमा समेत सहमति भएको उल्लेख गरेका छन्। साथै, बाँकी विवादित विषयहरूको समाधानका लागि आगामी ६० दिनभित्र थप उच्चस्तरीय वार्ता सञ्चालन गरिने बताइएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक सैन्य कारबाही सुरु गरेका थिए। त्यसको प्रत्युत्तरमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी क्षेत्रका केही देशहरूलाई निशाना बनाएको थियो।
साथै, विश्वका करिब एक तिहाइ समुद्री तेल ढुवानी हुने होर्मुज जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा गम्भीर असर परेको थियो। तेल तथा प्राकृतिक ग्यासको ढुवानी अवरुद्ध हुँदा विश्वभर ऊर्जा संकट गहिरिने चिन्ता बढेको थियो।
गत अप्रिलमा दुवै पक्षबीच दुई साताका लागि युद्धविरामको प्रारम्भिक सहमति भएको थियो। त्यसपछि युद्धको तीव्रता कम भए पनि विभिन्न स्थानमा छिटपुट आक्रमण र तनाव जारी नै रहेको थियो। पछिल्लो सहमतिलाई भने युद्ध अन्त्यतर्फको सबैभन्दा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यसैबीच, शान्ति सम्झौताको समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो उतारचढाव देखिएको छ। विश्व बजारमा ब्रेन्ट क्रुडको मूल्य ४।१ प्रतिशतले घटेको छ भने डब्लुटिआई कच्चा तेल ४.७ प्रतिशतले सस्तिएको छ। यो गिरावट गत मार्चयताकै सबैभन्दा ठूलो मूल्य ह्रास मानिएको छ।
साथ जुन १९ मा हुने औपचारिक हस्ताक्षर प्रक्रिया सफलतापूर्वक सम्पन्न भयो भने आगामी हप्ताहरूमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ७० देखि ७५ अमेरिकी डलरको दायरामा स्थिर हुन सक्छ। यसले विश्वभर बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न तथा उद्योग–व्यवसायको उत्पादन लागत घटाउन महत्वपूर्ण राहत पुर्याउने अपेक्षा गरिएको छ।
Advertisment