काठमाडौं : धनुषाको गोदार क्षेत्रमा निर्माणाधीन चारतारे मनसरा होटलको व्यावसायिक सञ्चालन लक्ष्य एक वर्ष पछाडि सरेको छ। करिब १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको होटल अब सन् २०२८ को अप्रिलबाट सञ्चालनमा आउने लक्ष्य राखिएको छ।
मनसरा होटल प्रालिले सुरुमा होटललाई सन् २०२७ को अप्रिलभित्र सञ्चालनमा ल्याउने योजना बनाएको थियो। तर निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न नसक्दा सञ्चालन समयावधि थपिएको हो। कम्पनीका अनुसार सन् २०२६ जनवरीसम्म परियोजनाको वित्तीय प्रगति कुल लागतको करिब २२ प्रतिशत मात्र पुगेको छ।
परियोजनामा कुल लगानीको ३९ प्रतिशत स्वपुँजी (इक्विटी) र ६१ प्रतिशत ऋणमार्फत जुटाइनेछ। हालसम्म प्रवर्द्धकहरूले १६ करोड रुपैयाँभन्दा बढी इक्विटी लगानी गरिसकेका छन्।
होटलमा ६० वटा कोठा रहनेछन्, जसमा एक प्रेसिडेन्सियल सुइट, दुई सुइट रुम, ३६ डिलक्स र २१ स्ट्यान्डर्ड कोठा समावेश हुनेछन्। साथै रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा, जिम तथा हेल्थ क्लब, सम्मेलन हल र विवाह समारोहका लागि विशेष बैंक्वेट सुविधा पनि रहनेछन्।
जनकपुरधाम नजिकै निर्माण भइरहेको यस होटलको बैंक ऋण सुविधाको क्रेडिट रेटिङ भने यथावत् कायम गरिएको छ। कम्पनीको ६० करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंकिङ कर्जा सुविधामा प्रदान गरेको डबल बी माइनस रेटिङ पुनः पुष्टि गरेको हो।
कम्पनीकी अध्यक्ष इन्दिरा पन्त हुन् । व्यवसायस् पन्त कालिञ्चोक हाइड्रोपावर लिमिटेडकी अध्यक्षसमेत रहेकी छन्।
Advertisment