Below Menu

४२.१०५ प्रतिशत लाभांश बाँड्दै नर्भिक, बुक बिल्डिङबाट २० प्रतिशत आईपीओ ल्याउने

४२.१०५ प्रतिशत लाभांश बाँड्दै नर्भिक, बुक बिल्डिङबाट २० प्रतिशत आईपीओ ल्याउने

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले शेयरधनीलाई ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । अस्पतालले आगामी दिनमा सर्वसाधारणका लागि बुक बिल्डिङ प्रक्रियामार्फत शेयर निष्कासन गर्ने तयारीसमेत अघि बढाएको छ ।

Sponsored Advertisement

भदौ २६ गते शुक्रबार सम्पन्न हस्पिटलको छैटौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र २२.१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको शेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्ने लगायतका आवश्यक काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा फार्मेसीबाहेक हस्पिटलको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ रहेको र खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

फार्मेसीसमेत जोड्दा हस्पिटलको कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी पुगेको छ । कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँ र खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको हस्पिटलले जनाएको छ ।

वार्षिक प्रतिवेदनअनुसार नर्भिकले आर्थिक वर्ष २०८२/८३ मा ओपिडी सेवामार्फत १ लाख ७९ हजार, आइपिडीमार्फत ९ हजार तथा आकस्मिक सेवामार्फत ६ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ ।

यस्तै, हस्पिटलले अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनियाका लागि ४१ हजार सेवाग्राहीलाई इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको जनाएको छ ।

थप समाचार