Below Menu

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए साढे १७ अर्ब बढी नाफा, अर्ब क्लबमा आठ बैंक 

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए साढे १७ अर्ब बढी नाफा, अर्ब क्लबमा आठ बैंक 

काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकहरुले साढे १७ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म बैंकहरुले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा कमाएका हुन् । 

Sponsored Advertisement

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशतले बढी हो । गत वर्षको भदौ मसान्तसम्म बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा आइपुग्दा १३ बैंकहरुको नाफा बढेको छ भने सात वटाको नाफा घटेको छ । सर्वाधिक नाफा बढाउनेमा हिमालयन बैंक रहेको छ । बैंकको नाफा गत वर्षको तुलनामा ५५.१३ प्रतिशतले बढेको हो ।  

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । चालु आवको भदौ मसान्तसम्म बैंकले एक अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको तुलनामा ३५.८३ प्रतिशतले बढी हो ।

गत वर्ष एक अर्ब १६ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको ग्लोबल आईएमई बैंकले यस अवधिमा एक अर्ब ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन ४.०७ प्रतितशले बढी हो ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाण्ज्यि बैंकको नाफा २५.३१  प्रतिशतले बढेको छ भने सानिमा बैंकको नाफा ४२.१५ प्रतिशतले बढेको छ । त्यस्तै प्रभु बैंकको नाफा १०.१३ प्रतिशत र नेपाल एसबिआई बैंकको नाफा १७.३२ प्रतिशतले बढेको छ । 

सात बैंककाे नाफा घट्याे  

भदौ मसान्तसम्म आइपुग्दा सात वाणिज्य बैंकहरुको नाफा घटेको छ । यस अवधिमा आइपुग्दा कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड, सिद्धार्थ, नेपाल बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज र सिटिजन्स बैंक इन्टरनेशनलको नाफा घटेको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको यस अवधिमा बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ६.११ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले १८ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा वाणिज्य बैंकहरुको नाफा १७ अर्ब ८१ करोड, विकास बैंकहरुको नाफा एक अर्ब ४६ करोड र फाइनान्सहरुको नाफा १८ करोड ३० लाख रुपैयाँ रहेको छ ।
 

थप समाचार