काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा सवा चार खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई चार खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो ।
भदौ महिनामा मात्रै विप्रेषण आप्रवाह दुई खर्ब २१ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१७४ अर्ब ६७ करोड रहेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।
भदौसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) चार खर्ब ६९ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.३८४ अर्ब ८८ करोड रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ रहेको थियो ।