काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले १० करोड ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २३.९० प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले १३ करोड १४ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क बढेपनि कर्जा तथा लगानीबाट हुने आम्दानी घटेका कारण नाफा प्रभावित भएको हो । तथापी कम्पनीको कुल आम्दानी भने बढेको छ।
यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ०.७३ प्रतिशतले घटेर ५४ करोड ५० लाख रुपैयाँ कायम भएको छ । गत वर्ष कम्पनीले लगानी तथा कर्जाबाट ५४ करोड ८९ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीले तीन अर्ब सात करोड दुई लाख रुपैयाँ कुल आम्दानी गरेको छ । उक्त रकम गत आवको तुलनामा १३.०८ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले दुई अर्ब ७१ करोड ५१ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।
असोज मसान्तसम्म कम्पनीले दुई अर्ब ४८ करोड ४० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क गत वर्षको तुलनामा १६.८२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष इन्स्योरेन्सले दुई अर्ब १२ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले अधिकर्ता कसिशनवापत २३ करोड २७ लाख ७८ हजार रुपैयाँ खर्चिएको छ । जुन गत वर्षको तुलनामा १४.९४ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले अभिकर्ता कमिशनमा २० करोड २५ लाख २१ हजार रुपैयाँ खर्चिएको थियो ।
असोज मसान्तसम्म आइपुग्दा नाफा बढेसँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस घटेर ८.०१ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १३३.५० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.६९ गुणा रहेको छ ।
यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ३५.०७ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो रकम २१ अर्ब ५९ करोड १० हजार रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्म पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ती कोषमा २७ करोड ९४ लाख ५९ हजार रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ५८ करोड ७० लाख ७९ हजार रुपैयाँ सञ्चित छ ।
कम्पनीले यस अवधिमा ४९ करोड १९ लाख ५९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने कुल खर्च दुई अर्ब ९७ करोड २ लाख रुपैयाँ पुगेको छ ।