काठमाडौं : सामलिङ पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले चार करोड ३४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ९९.६३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले दुई करोड १७ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । यसका साथै समिक्षा अवधिमा कम्पनीको वित्तीय खर्च पनि घटेका कारण खुद नाफामा सुधार देखिएको हो ।
गत वर्षको सोही अवधिमा विद्युत बिक्रीमार्फत सात करोड ८४ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा ९ करोड २९ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन १८.५४ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको कुल नाफा २६.६३ प्रतिशतले बढेर आठ करोड ६२ लाख १० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो नाफा ६ करोड ८० लाख ७८ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको वित्तीय खर्च १३.२५ प्रतिशतले घटेर दुई करोड ८ लाख ८२ हजार रुपैयाँमा झरेको छ ।
पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ८.४९ रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ५१.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८.६६ रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा सात करोड ६० लाख रुपैयाँ सञ्चित छ ।