काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले २१ करोड ७० लाख ८६ रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलानमा ३३१.९५ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ६ करोड दुई लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीसँगै कुल आम्दानी पनि बढेका कारण नाफामा उल्लेख्य वृद्धि देखिएको हो । कम्पनीको वित्तीय खर्च पनि घटेको छ ।
गत वर्ष विद्युत बिक्रीमार्फत १६ करोड ६४ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा ३४ करोड २९ लाख ९४ हजार रुपैयाँ पुगेको छ । जुन १०६.०९ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको कुल आम्दानी १६ करोड ६४ लाख २५ हजार रुपैयाँबाट बढेर ३४ करोड ३० लाख ५५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ११३.६३ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीको वित्तीय खर्च पनि समीक्षा अवधिमा २६.६१ प्रतिशतले घटेर तीन करोड ८८ लाख ६५ हजार रुपैयाँमा झरेको छ ।
पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ३.६९ रुपैयाँबाट बढेर १४.४७ रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ५४.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २० पैसा रहेको छ।
असोज मसान्तसम्म एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ र जगेडा कोषमा ५९ करोड ७३ लाख ९५ हजार रुपैयाँ सञ्चित छ ।
माण्डु हाइड्रोपावरले बागमती साना जलविद्युत् आयोजना अन्तर्गत २२ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गर्दै आएको छ। कम्पनीले आयोजनाको क्षमता थप १० मेगावाट विस्तार गरी कुल उत्पादन क्षमता ३२ मेगावाट पुर्याउने प्रक्रिया पनि अघि बढाएको छ।