Below Menu
Below Menu

कम्पनी नवीकरणमा राहत, असोज मसान्तभित्र विवरण बुझाए पुराना सबै जरिवाना र शुल्क पूर्ण मिनाहा हुने

कम्पनी नवीकरणमा राहत, असोज मसान्तभित्र विवरण बुझाए पुराना सबै जरिवाना र शुल्क पूर्ण मिनाहा हुने

काठमाडौं : सरकारले कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएर लामो समयदेखि विवरण अद्यावधिक नगरेका कम्पनीहरूलाई विशेष राहत दिने भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि आवश्यक विवरण समयमै पेश गरेमा विगतका सम्पूर्ण बक्यौता जरिवाना तथा शुल्क मिनाहा हुने जनाएको हो।

कार्यालयका अनुसार सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ को दफा ४८ मा गरिएको व्यवस्थाअनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूले कानुनले तोकेको समयभित्र वार्षिक विवरण पेश नगरेका, अभिलेख अद्यावधिक नगरेका वा तिर्नुपर्ने कर, शुल्क, दस्तुर तथा जरिवाना दाखिला नगरेका भए पनि विशेष अवसर प्रदान गरिएको छ।

यस व्यवस्थाअन्तर्गत कारोबार सञ्चालन गरिरहेका वा आफ्नो कम्पनी दर्ता खारेज गर्न चाहने कम्पनीहरूले आर्थिक वर्ष २०८२र८३ को वार्षिक विवरण संवत् २०८३ असोज मसान्तभित्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

साथै, कानुन बमोजिम लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा सो मितिभन्दा अघि लागेका वा लाग्न बाँकी रहेका सम्पूर्ण जरिवाना, शुल्क र दस्तुर मिनाहा हुने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयले लामो समयदेखि विवरण नबुझाएका तथा अभिलेख अद्यावधिक नगरेका कम्पनीहरूलाई यो व्यवस्था उपयोग गर्न आग्रह गरेको छ। कार्यालयका अनुसार यसबाट निष्क्रिय वा प्रक्रियागत समस्यामा परेका कम्पनीहरूलाई कानुनी दायराभित्र ल्याउन, अभिलेख अद्यावधिक गर्न तथा व्यवसायिक वातावरण सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयले सम्बन्धित सबै कम्पनी तथा सरोकारवालाहरूलाई तोकिएको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी सरकारबाट प्रदान गरिएको कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहाको सुविधा लिन अनुरोध गरेको छ। असोज मसान्तपछि भने प्रचलित कानुनअनुसार लाग्ने सम्पूर्ण शुल्क तथा जरिवाना तिर्नुपर्ने भएकाले समयमै विवरण बुझाउन कम्पनीहरूलाई सचेत गराइएको छ। 

Advertisment

थप समाचार