Below Menu
Below Menu

प्रसूति गृह र टिचिङ अस्पतालका क्यान्टिनमा कैफियत, तत्काल सुधार गर्न निर्देशन

प्रसूति गृह र टिचिङ अस्पतालका क्यान्टिनमा कैफियत, तत्काल सुधार गर्न निर्देशन

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीमार्फत राजधानीका ठूला सरकारी अस्पतालका क्यान्टिनहरूको निरीक्षण गर्दा खाद्य सुरक्षा तथा सरसफाइका विभिन्न कमजोरीहरू फेला परेका छन्।

विभागले असार १ गते प्रसूति गृह अस्पताल, थापाथलीस्थित मनकामना रिसब क्यान्टिन तथा जेठ २९ गते त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जस्थित एम.बी. चमेना गृहको अनुगमन गरी आवश्यक निर्देशन तथा कारबाही गरेको जनाएको छ।

थापाथलीस्थित प्रसूति गृह अस्पतालको मनकामना रिसब क्यान्टिनमा कृत्रिम खाद्य रङको अव्यवस्थित प्रयोग भएको, क्यान्टिनको प्रवेशद्वार नजिकको भौतिक संरचना अत्यन्त जिर्ण अवस्थामा रहेको तथा किट नियन्त्रण (पेस्ट कन्ट्रोल) व्यवस्थापन प्रभावकारी नभएको पाइएको विभागले जनाएको छ।

अनुगमनका क्रममा केही पकाइएका खाद्यवस्तु खुला रूपमा भण्डारण गरिएको, फोहोर व्यवस्थापन प्रभावकारी नभएको तथा भान्साको सरसफाइ सामान्य अवस्थामात्र रहेको भेटिएको थियो।

यस्तै, क्यान्टिनमा प्रयोग भइरहेको तेलको टीपीएम (टोटल पोलार मटेरियल) मान १६.५ रहेको र तोकिएको मापदण्डअनुसार रहेको विभागले जनाएको छ। तर, निरीक्षणका क्रममा एक–एक किलोग्रामका छ प्याकेट चाउचाउको उपभोग्य मिति समाप्त भइसकेको फेला परेपछि ती सबै नष्ट गरिएको छ।

विभागले क्यान्टिन सञ्चालकलाई नियमित सरसफाइ गर्न, पेस्ट कन्ट्रोललाई थप प्रभावकारी बनाउन, खुट्टाले खोल्न मिल्ने फोहोरदानी प्रयोग गर्न, तयार खाना उचित तापक्रममा भण्डारण गर्न तथा पूर्ण लेबल भएका र अनुमति प्राप्त उद्योगबाट उत्पादित खाद्यवस्तुमात्र प्रयोग गर्न निर्देशन दिएको छ। साथै, जिर्ण भौतिक संरचना तत्काल सुधार गर्न पनि भनिएको छ।

यसैगरी, महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको एम.बी. चमेना गृहमा गरिएको निरीक्षणमा पनि खाद्य सुरक्षासम्बन्धी विभिन्न कमजोरी देखिएका छन्। केही पकाइएका खाद्यवस्तु खुला रूपमा राखिएको, बाह्य कम्पनीमार्फत पेस्ट कन्ट्रोल गरिए पनि किट नियन्त्रण प्रभावकारी नभएको तथा फोहोरदानीको प्रयोग व्यवस्थित नभएको पाइएको विभागले जनाएको छ।

अनुगमन टोलीले खाना बनाउने र भाँडा सफा गर्ने स्थान एउटै क्षेत्रमा रहेको, फोहोर भाँडाकुँडा भान्साभित्रको बाटो हुँदै ओसारपसार गर्ने गरिएको तथा सरसफाइको अवस्था सामान्य रहेको उल्लेख गरेको छ। यद्यपि, क्यान्टिनमा कृत्रिम खाद्य रङ प्रयोग नभएको र पिउने तथा खाना पकाउने प्रयोजनका लागि जार तथा बोतलको पानी प्रयोग गरिएको पाइएको छ।

विभागले उक्त क्यान्टिनलाई पनि नियमित सरसफाइ गर्न, पेस्ट कन्ट्रोल व्यवस्थापनलाई थप प्रभावकारी बनाउन, खुट्टाले खोल्न मिल्ने फोहोरदानी प्रयोग गर्न, तयारी खाना सुरक्षित तापक्रममा भण्डारण गर्न तथा फोहोर भाँडाकुँडाको ओसारपसार भान्साभित्रबाट नगर्न निर्देशन दिएको छ।

Advertisment

थप समाचार